रसुवागढी नाका बिहीबारदेखि पुनः सञ्चालनमा

करिब ६ महिनापछि रसुवागढी नाका बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते आएको बाढीले चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पक्की पुल बगाएपछि नाका पूर्ण रूपमा बन्द भएको थियो। चीनले अस्थायी रूपमा बेलिब्रिज निर्माण गरेपछि नाका खुलेको हो।

रसुवा भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार बिहीबार बिहानै खाली कन्टेनर चीनतर्फ पठाइएको छ र उतातर्फ अड्किएका कन्टेनरहरू क्रमशः नेपाल भित्रिनेछन्।

नाका बन्द हुँदा विशेषगरी विद्युतीय सवारीसाधन, फलफूल र लत्ताकपडाको आयात प्रभावित भएको थियो। बाढीअघि दैनिक करिब १०० कन्टेनर आवतजावत हुने रसुवागढी नाका २४ असारपछि सुनसान बनेको थियो।

नाका बन्द रहँदा करिब २१ अर्ब रुपैयाँ राजस्व गुमेको रसुवा भन्सार कार्यालयको अनुमान छ। नाका खुले पनि बेलिब्रिज साँघुरो र एकतर्फी भएकाले पहिलाजस्तो संख्यामा मालवाहक सवारी सञ्चालन हुन नसक्ने र भारी सवारीसाधन प्रवेशमा प्रतिबन्ध रहने भन्सारको भनाइ छ।

त्यस्तै, रसुवागढीदेखि स्याफ्रुबेंसीसम्मको १६ किलोमिटर सडकखण्डमा पहिरोका कारण अझै पनि यातायातमा समस्या छ। सडक स्तरोन्नतिको काम चीन सरकारको अनुदानमा जारी रहेको र केही स्थानमा सडक अझै एकतर्फी सञ्चालनमा छ।

पुस महिनाका लागि ३ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य भए पनि आधा महिना बितिसकेकाले लक्ष्य पूरा नहुने निश्चित भएको भन्सार कार्यालयले जनाएको छ। नाका खुलेसँगै तत्कालै ठूलो मात्रामा आयात र राजस्व संकलन हुन समय लाग्ने बताइएको छ।