बर्दियाको मधुवन नगरपालिका वडा नं २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षीया बालिकाको मृत्यु भएको छ ।
घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने बिनिता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् ।
घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।
चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्रबहादुर मल्लले बताए ।
पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पुस महिनाभित्र नै हालसम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चालु आर्थिक वर्षको हाल सम्म चितुवा र बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ ।
हाल बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा पनि सामुदायिक वन क्षेत्रमा बढी चितुवा र बाघको आक्रमण बढेको छ ।





