केपी ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ : लेखराज भट्ट

 नेकपा (एमाले)का सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताए ।

सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क गरे । ‘केपी कमरेडकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ । गोलबन्द भएर जानुपर्छ । र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ । र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ । वाह्य हस्तक्षेपलाई हामी परास्त गर्नसक्छौँ । यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ’ उनले भने ।

सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताए ।