काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै प्लेअफमा प्रवेश भएको छ ।
ऊ प्लेअफमा पुग्ने दोस्रो टोली हो । पहिलो टोली भने सुदूरपश्चिम रोयल्स बन्यो ।
बिहीबार काठमाण्डुले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पोखरा १९.५ ओभरमा मात्र १ सय ५२ रन बनाएर अलआउट भयो ।
उसका लागि ऋषि धवनले ५४ रनको उत्कृष्ट पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । त्यस्तै, धनञ्जय लक्ष्मणले ३५, कप्तान कुशल भुर्तेलले २८ र जेसन रोयले १६ रन जाडे ।
काठमाडौंका लागि बलिङमा साहब आलमले ह्याट्रिकसहित सानदार बलिङ गरे । उनले चार ओभरमा २५ रन खर्चिएर ६ विकेट हात पारे ।
त्यस्तै, सन्नी पटेल र कप्तान करण केसीले दुई/दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन बनायो ।
उसका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतक बनाए । उनले २३ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै ५५ रन बनाए । त्यस्तै, बेन चार्ल्सवर्थ अर्धशतकीय पारी खेले । ५५ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाए । साथै मिलिन्द कुमारले १३ रन जोडे ।
पोखराका लागि बलिङमा धनञ्जय लक्ष्मणले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन खर्चिएर चार विकेट लिए । त्यस्तै, विपिन खत्रीले दुई, किरण ठगुन्ना तथा कप्तान कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।
काठमाण्डुको जितले पोखराको प्लेअफ यात्रा भने निकै कठिन बनेको छ । प्लेअफ लक्ष्य पूरा गर्ने हो भने उसले बाँकी खेलमा जित निकाल्नुपर्छ । साथै उसले अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने देखिन्छ ।





