बुटवल । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको विकासलाई राजधानी केन्द्रीत सीमाबाट बाहिर विस्तार गर्ने ऐतिहासिक कदमस्वरूप ‘वर्डक्याम्प नेपाल २०२६’ यसपटक लुम्बिनी प्रदेशको रुपन्देहीमा आयोजना हुने भएको छ। नेपालमै पहिलो पटक राजधानी बाहिर विश्वस्तरको वर्डप्रेस सम्मेलन हुन लागेको हो।
वेबसाइट निर्माण र डिजिटल सामग्री व्यवस्थापनमा विश्वभर प्रयोग हुँदै आएको लोकप्रिय ओपन–सोर्स प्लेटफर्मवर्डप्रेसमा केन्द्रित यो अन्तर्राष्ट्रिय सम्मेलन आगामी माघ ९ र १० गते (जनवरी २३ र २४) तिलोत्तमा नगरपालिका–५ स्थित विश्राम बाटिका, मणिग्राममा सञ्चालन हुनेछ।
आयोजकका अनुसार यो सम्मेलन आईटी विद्यार्थी, सफ्टवेयर डेभलपर, ब्लगर, डिजिटल मार्केटिङ विशेषज्ञ, अनलाइन व्यवसायी र प्रविधिमा रुचि राख्ने सबै वर्गलाई लक्षित गरी आयोजना गरिएको हो।
काठमाडौँ केन्द्रीत सोच तोड्दै मोफसलमा प्रविधि
यसअघि काठमाडौँमा मात्र सीमित रहने यस्ता अन्तर्राष्ट्रिय टेक कार्यक्रम पहिलोपटक रुपन्देहीमा आयोजना हुनु आफैंमा अर्थपूर्ण मानिएको छ। आयोजक समितिका अनुसार, बुटवल र आसपासका क्षेत्रलाई प्रविधि र व्यापारको केन्द्रका रूपमा स्थापित गर्न ‘टेक–टुरिजम’ को अवधारणासहित वर्डक्याम्प रुपन्देहीमा ल्याइएको हो।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तथा विश्व शान्तिको प्रतिक लुम्बिनीसँग नजिक रहेको कारण विदेशी सहभागीताको आकर्षण बढ्ने विश्वास आयोजकको छ। प्रविधिको ज्ञानसँगै सहभागीहरूले लुम्बिनीको आध्यात्मिक वातावरण र प्राकृतिक सौन्दर्यको अनुभूति गर्न पाउनेछन्। आयोजकले यस सम्मेलनलाई „मोफसलमा प्रविधि हस्तान्तरणको कोसेढुङ्गा“ का रूपमा व्याख्या गरेका छन्।
दुई दिन, दुई उद्देश्य: योगदान र सिकाइ
‘वर्डक्याम्प नेपाल २०२६’ लाई दुई छुट्टाछुट्टै उद्देश्यमा विभाजन गरिएको छ।
पहिलो दिन पूर्ण रूपमा वर्डप्रेसको विश्वव्यापी विकास प्रक्रियामा योगदान गर्ने दिन हुनेछ। सहभागीहरू विभिन्न समूहमा विभाजन भई:वर्डप्रेस कोर सफ्टवेयरमा कोडिङ, सुरक्षा परीक्षण,नेपाली भाषामा अनुवाद,डिजाइन तथा डकुमेन्टेसन जस्ता काममा प्रत्यक्ष सहभागिता जनाउनेछन्। नवप्रवेशी विद्यार्थीहरूका लागि अनुभवी मेन्टरहरूसँग बसेर ओपन–सोर्स कम्युनिटीमा कसरी योगदान गर्ने भन्ने व्यावहारिक ज्ञान लिने अवसर पनि रहनेछ
दोस्रो दिन मुख्य सम्मेलन हुनेछ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी विज्ञहरूले:
वेबसाइट निर्माणको भविष्य, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ,डिजिटल मार्केटिङ, ई–कमर्स, साइबर सुरक्षा, जस्ता विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्। साथै, प्यानल छलफल र कार्यशालामार्फत व्यावहारिक सीप विकासमा जोड दिइनेछ।रोजगारीदेखि ग्लोबल अवसरसम्म वर्डक्याम्प नेपाल केवल सम्मेलन मात्र नभई नेटवर्किङ र करियर विकासको थलो समेत बन्ने अपेक्षा गरिएको छ।
विद्यार्थी र पेसाकर्मीहरूले आईटी कम्पनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने ,रोजगारी तथा इन्टर्नसिपको सम्भावना खोज्न सक्ने,स्थानीय व्यवसायीहरूले आफ्नो व्यवसाय अनलाइन लैजाने तरिका सिक्ने,विदेशमा बसेर काम गर्ने अवसर (Remote Work) बारे जानकारी पाउने जस्ता उपलब्धिहरू यस सम्मेलनको प्रमुख आकर्षण हुनेछन्।
आयोजकका अनुसार, वर्डप्रेसको विश्वव्यापी समुदायसँग जोडिँदा नेपाली युवाहरूले घरमै बसेर विदेशी मुद्रा आर्जन गर्ने सीप विकास गर्न सक्नेछन्।
रजिस्ट्रेसन खुला, सहभागिता अपेक्षित
कार्यक्रममा सहभागी हुन चाहनेहरूले अनलाइनमार्फत रजिस्ट्रेसन गर्न सक्नेछन्। रजिस्ट्रेसन प्रक्रिया सुरु भइसकेको र देशभरबाट उल्लेख्य सहभागिता अपेक्षा गरिएको आयोजकले बताएका छन्।रुपन्देहीमा आयोजना हुन लागेको यो कार्यक्रमले स्थानीय स्तरमै अन्तर्राष्ट्रिय प्लेटफर्ममा पहुँच दिलाउने विश्वास गरिएको छ।