एनपीएल क्रिकेट: सुदूरपश्चिम र विराटनगरको जित

कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सलाई ४५ रनले हराएको छ ।

दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम विरुद्ध ४ विकेट लिएपछि १ सय ४० रनको लक्ष्य पाएको कर्णाली १९ ओभर २ बलमा ९४ रनमै अलआउट भयो । बलिङतर्फ दीपेन्द्रले ४ ओभरमा २३ रन खर्चेर उत्कृष्ट प्रदर्शन गरे । सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।

त्यसअघि हिजो नै भएको पहिलो खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । सन्दीप लामिछानेले ४ विकेट लिए । १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन मात्र बनाउन सक्यो । सन्दीपले ४ ओभरमा ११ रन मात्र खर्चेका थिए ।

अन्य खेलाडीहरूमा कर्णालीका पवन सार्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका हर्मित सिंह र अविनाश बोहराले समान २ विकेट लिए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । ३ खेल खेलेको सुदूरपश्चिम ३ खेलमा जित निकाल्दै ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ ।

यस्तै लगातार ३ खेल जितेको विराटनगर ६ अंकसहित दोस्रो स्थानमा छ भने ३ खेल खेलेको कर्णाली १ खेलमा जित र २ खेलमा पराजित हुँदै २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । २ खेल खेलेर २ खेलमै हार बेहोरेको जनकपुर शून्य अंकसहित तालिकाको सातौँ स्थानमा छ । यसैबीच एनपीएल क्रिकेटमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सले आ–आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट शुरूवात गरेका थिए । यसअघि गएको शनिबार विराटनगरले काठमाण्डुलाई र कर्णालीले लुम्बिनीलाई पराजित गरेको थियो ।