विराटनगर पुगेका नेकपा एमालेका नेता महेश बस्नेतमाथि बेलुनभित्र रातो मसी हालेर प्रहार गर्ने दुई युवक नेपाली कांग्रेस भातृ संगठन आवद्ध भएको खुलेको छ ।
पक्राउ परेका मध्येका २५ वर्षीय संजोग गौतम विराटनगरस्थित नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसमा इकाई सभापति हुन् । गौतम पार्टीको विराटनगर नगर सदस्य पनि रहेका छन् ।
त्यसैगरी पक्राउ परेका अर्का १९ वर्षीय अर्पित कुवँर नेविसंघकै विद्यार्थी नेता रहेका छन् । भदौ २३ र २४ गतेको जेनजी युवा अभियानमा समेत रहेका उनी सरकारसँगको वार्ता टोलीका लागि काठमाडौँ आएका थिए । यद्धपि, उनी पार्टीको भातृसंगठनमा आवद्ध भएको सार्वजनिक भएपछि उनी वार्ता टोलीमा सहभागी हुन सकेका थिएनन् ।
काठमाडौँबाट बिहान विराटनगर आएका बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकाल इटहरीको कार्यक्रममा सहभागी हुन आएका हुन् । उनीहरु विराटनगर आउने खबरसँगै सुरक्षा अवस्था कडा बनाइएको भएपनि विमानगरको गेट बाहिर रहेका युवाहरुले मसी भरिएको बेलुन प्रहार गरेका थिए ।
उनीहरुले प्रहार गरेको बेलुन बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीका शिसामा लागेको थियो । हाल प्रहरीले दुवैलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।





