इटालियन सिरी ए अन्तर्गत महत्त्वपूर्ण खेलमा इन्टर मिलानले लाजियोलाई २-० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै इन्टरले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ।
सान सिरोमा भएको खेलमा इन्टरले सुरुवाती मिनेटदेखि नै लाजियोमाथि दबाब बनायो। खेलको तेस्रो मिनेटमै कप्तान तथा स्टार स्ट्राइकर लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। लाजियोले पहिलो हाफमा बराबरी गर्ने प्रयास गरे पनि इन्टरको रक्षापंक्तिलाई तोड्न सकेन।
दोस्रो हाफमा पनि इन्टरले आफ्नो नियन्त्रण कायम राख्यो। खेलको ६२औं मिनेटमा आन्गे-योआन बोन्नीले उत्कृष्ट गोल गर्दै इन्टरको अग्रता दोब्बर पार्दै टोलीलाई २-० को सहज स्थितिमा पुर्याए।
लाजियोले खेलको अन्त्यतिर केही आक्रमण बुने पनि गोल फर्काउन नसक्दा इन्टर मिलानले क्लिन सिट राख्दै तीन महत्त्वपूर्ण अङ्क जोड्न सफल भयो।




