नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता दोहोर्याएका छन् ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिहरूसँग भएको अनौपचारिक छलफलमा बोल्दै उनले आगामी आम निर्वाचनअघि नयाँ नेतृत्वसहित कांग्रेसले चुनावी मैदानमा जानुपर्ने धारणा राखेका हुन् ।
डा. कोइरालाले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने कुरा धेरै पहिलेदेखि भन्दै आएको छु । अहिलेको अवस्थाको कारणले त्यो समयमै हुन नसके पनि कुनै पनि हालतमा २०८२ पुस मसान्तभित्र सम्पन्न गर्नैपर्छ ।’
उनले पार्टीको महाधिवेशन तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकासँग नबाझिने गरी बनाइनुपर्नेमा जोड दिए ।
कांग्रेस नेता कोइरालाले पार्टी अहिले एकतावद्ध, गम्भीर, जिम्मेवार र संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिँदै भने, ‘पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ ।’
उनले पार्टीले विगतमा धेरै आरोह–अवरोह व्यहोरेको उल्लेख गर्दै आगामी दिनमा “एकता नै बल हो” भन्ने सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे । ‘कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुँदैन । म पार्टीमा एकता, मेलमिलाप चाहन्छु, गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु,’ उनले भने ।
डा. कोइरालाले देशभरका इमानदार, निष्ठावान् र निरन्तर क्रियाशील कार्यकर्ताले नै पार्टीलाई बचाइरहेका बताएका छन् । ‘पार्टीका लाखौं शुभेच्छुक र बाह्य सबै पक्ष अहिले नेपाली कांग्रेसको निर्णय हेरिरहेका छन्, पर्खिरहेका छन्’ उनले भने ।
उनले सबै पक्षलाई आपसी विश्वास र एकताको भावनासहित पार्टी र देशलाई सुदृढ बनाउन योगदान दिन आग्रह गरे ।





