पीएसजीमाथि बायर्नको जित, दुई गोल गरेका डियाजलाई रातो कार्ड

ईएफए च्याम्पियन्स लिगकाे साविक विजेता फ्रेन्च महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई जर्मन क्लब बायर्न म्युनिखले उसकै घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित गरेको छ ।

बायर्नका कोलम्बियन विङ्गर लुइस डियाजले शानदार प्रदर्शन गर्दै खेलमा बायर्नलाई अग्रता दिलाएका थिए। उनले खेलको चौथो र ३२औँ मिनेटमा लगातार दुई गोल गर्दै बायर्नलाई २-० को बलियो स्थितिमा पुर्‍याए।

तर, पहिलो हाफको इन्जुरी समयमा उनै डियाजले पीएसजीका खेलाडीलाई खतरनाक ट्याकल गरेपछि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। यससँगै बायर्नले दोस्रो हाफ पूरै १० खेलाडीमा खेल्नुपर्ने बाध्यता आयो।

दोस्रो हाफमा एक खेलाडीको फाइदा उठाएर पीएसजीले बायर्नमाथि निकै दबाब बनायो। अन्ततः सब्स्टिच्युट खेलाडी जोआओ नेभेसले खेलको ७४औँ मिनेटमा गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे।

तर, बायर्नका १० खेलाडीले अनुशासित र दृढ रक्षात्मक प्रदर्शन गर्दै पीएसजीलाई बराबरी गोल गर्न दिएनन्।