पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सडकको दुरवस्थाका कारण यात्रुहरूले निकै ठूलो सास्ती भोगिरहेका छन्। आइतबार दिनभरिको निरन्तर झरी र सडक मर्मतका कारण कावासोतीका दीप काफ्लेलाई बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झन्डै १२ घण्टा लागेको थियो।
केही दिनअघिको झरीले बाटो हिलो र चिप्लो हुँदा दाउन्ने खण्डको यात्रा सकसपूर्ण बनेको यात्रुहरूको गुनासो छ। नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भए पनि दाउन्नेको करिब १४ किलोमिटर खण्डमा काम नसकिँदा यो समस्या लामो समयदेखि कायम छ। विशेषगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गतको पूर्वी खण्डमा जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको छ।
पानी परेको समयमा चिप्लो हुने मात्र होइन, कल्भर्ट निर्माण र ढलानलगायतका काम गर्दा अन्य समयमा समेत बाटो एकतर्फी सञ्चालन हुने भएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ। मुख्यगरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसठ्ठी मोड मा अत्यधिक समस्या रहेको छ। जीर्ण सडक र बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण रूपमा अवरुद्ध हुने गरेको यात्रुहरूको गुनासो छ।
दाउन्ने क्षेत्रमा सवारीको ठूलो जाम लागेपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन नसकेको र ठाउँठाउँमा बिग्रिएका सवारीले बाटो छेकेकाले अवस्था सहज नभएको बताएका छन्। उनले सकेसम्म यो बाटो भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गरिदिन आग्रह गरेका छन्।





