नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाले त्यहाँ कामदार पठाउने नेपाली निजी भर्ना एजेन्सी (म्यानपावर कम्पनी) हरूको संख्या घटाउनका लागि १० बुँदे कडा मापदण्ड लागू गरेको छ।
मलेसिया सरकारले यो नयाँ व्यवस्था कार्यान्वयन गर्नका लागि तोकिएको मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूको सूची पठाउन नेपाल सरकारलाई औपचारिक आग्रह गरेको छ।
मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई एक कूटनीतिक नोट पठाउँदै यो जानकारी दिएको हो। उक्त नोटअनुसार, मलेसियाले नेपालबाट कामदार भर्ना र स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्न अनुमति प्राप्त निजी भर्ना एजेन्सीहरूको संख्यालाई तर्कसंगत बनाउने निर्णय गरेको छ।
यो प्रक्रिया मलेसियाको मानव संसाधन मन्त्रालयले वस्तुनिष्ठ र योग्यतामा आधारित छनोट प्रक्रियामार्फत कार्यान्वयन गर्नेछ। यसका लागि नेपाल सरकारले तोकिएका १० अनिवार्य मापदण्ड पूरा गर्ने इजाजत प्राप्त म्यानपावर कम्पनीहरूको सूची सन् २०२५ नोभेम्बर १५ भित्र मलेसियाको मानव संसाधन मन्त्रालयमा पेस गरिसक्नुपर्नेछ।
पत्रमा स्पष्ट रूपमा भनिएको छ, ‘अपूर्ण आवेदन वा तोकिएका मापदण्ड पूरा नगर्ने कम्पनीहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन।’ मलेसिया सरकारले यो नीतिमार्फत दुई देशबीचको श्रम आप्रवासनलाई थप रचनात्मक, नैतिक र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
छनोटका लागि अनिवार्य १० मापदण्डहरू
मलेसियाले तोकेका यी कडा मापदण्डहरूले अब साना र कमजोर पूर्वाधार भएका कम्पनीहरूलाई मलेसिया कामदार पठाउन लगभग असम्भव बनाउने देखिएको छ। छनोटका लागि अनिवार्य गरिएका मापदण्डहरू यसप्रकार छन्:
१. न्यूनतम ५ वर्षको सञ्चालन इजाजतपत्र: म्यानपावर कम्पनीले नेपालको सम्बन्धित निकायबाट वैध दर्ता र इजाजतपत्र प्राप्त गरी कम्तीमा ५ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ।
२. पछिल्लो ३ वर्षमा न्यूनतम ३,००० कामदार पठाएको अनुभव: कम्पनीले पछिल्लो ३ वर्षको अवधिमा कम्तीमा ३,००० विदेशी कामदार भर्ना गरी व्यवस्थापन गरेको रेकर्ड हुनुपर्नेछ।
३. कम्तीमा ३ वटा अन्य देशमा कामदार पठाएको अनुभव: मलेसियाबाहेक कम्तीमा तीनवटा फरक-फरक देशहरूमा कामदार पठाएको र व्यवस्थापन गरेको अनुभव हुनुपर्नेछ।
४. सबै नियामक निकायबाट पूर्ण र वैध इजाजतपत्र: कम्पनीसँग तालिम, मूल्यांकन, भर्ना र स्थानान्तरणलगायतका सबै आवश्यक कार्यका लागि सम्बन्धित सरकारी निकायहरूबाट जारी गरिएका सम्पूर्ण इजाजतपत्रहरू वैध र पूर्ण हुनुपर्नेछ।
५. कम्पनी सञ्चालकको असल आचरणको प्रमाणपत्र: म्यानपावर कम्पनीको सञ्चालकले सम्बन्धित देशको आधिकारिक निकायबाट जारी गरिएको “असल आचरणको प्रमाणपत्र” पेस गर्नुपर्नेछ।
६. नैतिक र कानुनी रूपमा स्वच्छ रेकर्ड: कम्पनी जबरजस्ती श्रम, मानव बेचबिखन, श्रम कानुन उल्लंघन, जबर्जस्ती असुली, सम्पत्ति शुद्धीकरण वा अन्य कुनै पनि वित्तीय अपराधजस्ता गतिविधिमा संलग्न नभएको हुनुपर्नेछ।
७. आफ्नै स्वामित्वको तालिम तथा मूल्यांकन केन्द्र: कम्पनीसँग आवास, प्राविधिक तालिम र अभिमुखीकरण मोड्युलसहितको पूर्ण सुविधासहितको तालिम तथा मूल्यांकन केन्द्र हुनुपर्नेछ, जुन पूर्ण रूपमा कम्पनीकै नियन्त्रणमा हुनुपर्दछ।
८. अन्तर्राष्ट्रिय रोजगारदाताबाट ५ वटा राम्रो सिफारिस पत्र: प्रत्येक कम्पनीले विदेशी कामदार लिने विभिन्न देशका कम्तीमा ५ जना रोजगारदाताहरूबाट एजेन्सीको सेवाप्रति सन्तुष्ट रहेको व्यहोराको लिखित सिफारिस पत्र पेस गर्नुपर्नेछ।
९. न्यूनतम १०,००० वर्ग फिटको स्थायी कार्यालय: भर्ना प्रक्रियालाई सहज रूपमा सञ्चालन गर्न पर्याप्त पूर्वाधार र सुविधासहित कम्तीमा ३ वर्षदेखि सञ्चालनमा रहेको न्यूनतम १०,००० वर्ग फिट क्षेत्रफलको स्थायी भौतिक कार्यालय हुनुपर्नेछ।
१०. विगतका भर्ना प्रक्रियाहरूको पालना गरेको प्रमाण: कम्पनीले मलेसियालगायत अन्य देशहरूमा कामदार पठाउँदा सबै भर्ना आवश्यकताहरू कानुनी र व्यवस्थित रूपमा पूरा गरेको प्रमाणित गर्ने कागजातहरू पेस गर्नुपर्नेछ।
मलेसियाको यो निर्णयले नेपालको वैदेशिक रोजगार क्षेत्रमा ठूलो प्रभाव पार्ने सरोकारवालाको भनाइ छ। यी मापदण्डहरू पूरा गर्न सक्ने म्यानपावर कम्पनीहरूको संख्या निकै कम हुने अनुमान छ। कतिपयले यसलाई सिन्डिकेटको रुपमा समेत हेरेका छन् ।





