मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आउँदो मंसिर ७ गतेबाट मेचीदेखि महाकालीसम्मका सबै क्षेत्रमा एकसाथ आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । उहाँले यो आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने दाबी गर्दै मानव अधिकारवादी, पत्रकार, देश तथा विदेशमा रहेका सबै नागरिकलाई साथ दिन आग्रह गर्नुभएको छ ।
उहाँले निजामती कर्मचारी र प्रहरीलाई पनि सो दिन बिदा बस्न अनुरोध गर्नुभएको छ । साथै, नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा सुरक्षित राख्न सुझाव दिनुभयो ।
प्रसाईंका अनुसार, ‘यो अभियान पूर्व-मेचीदेखि पश्चिम-महाकालीसम्मका १४ अञ्चल, ७५ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ । आन्दोलनको उद्देश्य बन्दुक वा बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने, घर जलाउने वा व्यापार व्यवसायमा तोडफोड गर्नु होइन’, उहाँले स्पष्ट पार्नुभयो ।
मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग बुधबारको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आन्दोलन मंसिर ७ गतेदेखि नै सुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि घोषणा ढिला हुँदा मानिसहरू अलमलमा परेका थिए, त्यसैले आजै सार्वजनिक गर्नु आवश्यक भएको हो ।’
प्रसाईंले मंसिर ७ गतेको ऐतिहासिक महत्व पनि सम्झाउनुभयो । उहाँका अनुसार, ‘उक्त दिन दिल्लीमा दलहरू र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता भएको थियो । त्यसपछि देशमा राजसंस्था र हिन्दू अधिराज्य अन्त्य भयो । आज विदेशी प्रभावमा एनजिओ र आइएनजिओको सरकार चलेको छ । हाम्रो अभियान पशुपति तथा माता दुर्गालाई जोगाउने, विदेश गएर घर छोडेका नेपाली नागरिकलाई घर फर्काउने र देशभरको व्यवस्था परिवर्तन गर्ने उद्देश्यले हो ।’ उहाँले सबै नेपाली नागरिकलाई आन्दोलनमा सहभागी हुन तयार रहन आग्रह गर्नुभयो ।





