काठमाडौं – राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले दिउँसो १ बजेसम्म ५ वटा रिट निवेदन आएको जानकारी दिए । ‘५ थान आएको छ । अरु आउने क्रममा छ । दर्ता भइसकेको छैन । बेलुका ४ बजेसम्म गर्छौं,’ दाहालले भने ।
उनका अनुसार अधिवक्ताहरु प्रवेश केसी, अनुप अर्याल, शकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध निवेदन दिएका हुन् । रिटमा संसद छलेर ल्याएको अध्यादेश संविधानविपरीत भएको, धारा १३३ को गम्भीर उल्लंघन भएको भन्दै बदर गर्न माग गरिएको छ ।
निवेदकरुले यो मुद्दा संवैधानिक इजलासमा हेर्न माग गरेका छन् । सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले नयाँ दल खोल्न पाउनेगरी अध्यादेश ल्याएको छ ।
खुकुलो प्रावधानसहित आएको अध्यादेशले नेकपा एमाले र जसपा फुटेको छ । माधव नेपालको नेतृत्वमा एमाले समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा जसपा लोकतान्त्रिक दर्ताको प्रक्रिया अघि बढेको छ ।