धनगढी, ३ भदौ -नेकपा एमाले विभाजन भएसँगै देशभर एमालेका नेता कार्यकर्ता पक्ष विपक्षमा खुल्न थालेका छन् । कतै एमालेबाट नयाँ पार्टी माधव समूहमा नेता गइरहेका छन् भने कतै माधव समूहमा रहेका नेता ओली समूहमा फर्केका छन् ।
सुदूरपश्चिमका केही नेता माधव समूहमा लागेका छन् भने केही नेता संस्थापन पक्षमा छन् । तर अधिकांश नेता भने कतै पनि खुलेका छैनन् । सुदूरपश्चिममा एमाले उपाध्यक्षसमेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशसभामा यसअघि माधव समूहमा खुलेका १८ जना सांसदमध्ये १६ जना कतै खुलेका छैनन् ।
यसअघि माधव नेपाल समूहमा रहेका सुदूरपश्चिम प्रदेशसभाका १७ जना प्रदेशसभा सदस्यमध्ये बैतडीका प्रदेशसभा सदस्य माया भट्ट र डोटीका प्रदेशसभा सदस्य पूर्णा जोशीमात्रै माधव समूहको केन्द्रीय कमिटीमा परेका छन् । अन्य प्रदेशसभा सदस्य भने एमाले एकताको पक्षमा रहेको भन्दै कुनै समूह नरोजेको बताएका छन् । यसअघि केपी शर्मा ओली पक्षमा रहेका ७ जना प्रदेशसभा सदस्य भने एमालेमै खुलेका छन् ।
अधिकांश प्रदेश सांसदहरु रावलले लिने निर्णयअनुसार नै अगाडि बढ्ने मनस्थितिमा छन् । नेता रावलले एमालेमै रहने वा एमाले समाजवादीमा जानेबारे निर्णय नगर्दा अहिले अधिकांश प्रदेश सांसद मौन रहेको बुझिएको छ ।
संघीय सासदले पनि माधव समूहलाई छोडेका छन् । उपाध्यक्ष भीम रावलको तटस्थ भूमिकाका कारण सुदूरपश्चिमबाट माधव नेपाल झनै कमजोर बनेका छन् । सुदूरपश्चिम प्रदेशमा माधव समहले दुई जनाको मात्रै साथ पाएका छन् । डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले र डडेल्धुराकी समानुपातिक सांसद निरादेवी जैरुमात्रै एमाले समाजवादी पार्टीमा अटाएका छन् ।
तर यसअघि माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकाश भट्ट, लक्ष्मीकुमारी चौधरीलगायका सांसद भने एकताको पक्षमा रहने भन्दै माधव नेपालको पार्टीमा गएका छैनन् ।
प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन् । जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए ।
यसअघि कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा लागेका थिए । उनीहरु अहिले पनि ओली पक्षमै छन् । यस्तै समानुपातिकतर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमा छन् ।
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुपर्ने सुविधा दिएको छ । २१ दिनपछि मात्रै एमालेमै रहने प्रदेश सांसद र एमाले समाजवादीमा जाने सांसदको टुंगो लाग्ने देखिन्छ ।
जोशीको आपत्ति
यसैबिच एमाले सुदूरपश्चिम प्रदेशका नेता भानुभक्त जोशीले आफू पार्टी एकताकै पक्षमा रहेको र तत्काल कुनै पक्षमा नहरको प्रष्ट पारेका छन् ।
यद्यपि उनको नाम माधव नेपालको एमाले समाजवादीको केन्द्रीय सदस्यको सूचीमा राखिएको छ । त्यसमा आपत्ति जनाउँदै पूर्ववनमन्त्री समेत रहेका जोशीले आफूलाई जानकारी नै नदिएर नाम राखिएको गुनासो गरेका छन् । आफू नेकपा एमाले एकताको पक्षमा रहेको र तत्कालै कुनै पक्षमा नलाग्ने उनको भनाई थियो । बझाङबाट प्रतिनिधित्व गर्ने नेता जोशी संसद विघटनपछि माधव समूहमा खुलेका थिए ।