उपाधिका लागि नेपालले सामोआलाई जित्नैपर्ने, अंक तालिकामा ओमान अगाडि

नेपालले उपाधिसहित टी–२० विश्वकपमा पुग्न छनोटको अन्तिम खेल जित्नै पर्ने दबाब भएको छ । ओमानको मस्कटमा आयोजना भइरहेको एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसँग खेल्दैछ । 

अपरान्ह सवा ४ बजेदेखि शुरू हुने यो खेल नेपालले जितेमात्र उपाधिसहित विश्वकपमा पुग्नेछ । हारले नेपाल उपविजेता हुँदै विश्वकपमा जानेछ । 

आज भएको पहिलो खेलमा ओमानले जापानमाथि सहज जित निकाल्दै ८ अंकसहित नेपालसँग बराबरी गरेको छ । ओमानले जापानलाई ९ विकेटले हराएको हो । 

१०४ रनको सामान्य चुनौती ओमानले १७ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो । यो खेलमा ओमान पराजित भएको भएमात्र नेपाल सामोआसँग खेल्नुअघि नै विजेता हुने थियो । 

नेपालको पनि ८ अंक भए पनि जितले १० अंक हुनेछ भने हारले रनरेट कम हुने हुँदा ओमानभन्दा पछि पर्नेछ । अहिले नेपालको रनरेट ०.७४५ छ भने ओमानको ०.४५६ रहेको छ । निकै झिनो हारलेमात्र नेपालले उपाधि जित्न सक्ने देखिन्छ । तर ढुक्क हुने भने जित्नैपर्नेछ ।

यो खेल जित्दा नेपालले अपराजित रहँदै स्वतः शीर्ष स्थानमा रहेर उपाधि जित्नेछ । यो आफैँमा नेपालका लागि कीर्तिमान हुनेछ । 

सुपर सिक्समा रहेका छ मध्ये शीर्ष तीन टिमले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा भाग लिन पाउने छन् । 

नेपाल, ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । सबै खेल खेलेको कतार र जापान तथा एक खेल कम खेलेको र सामोआ बाहिरिइसकेका छन् । 

अहिले नेपाल र ओमानको ८–८ अंक छ भने यूएईको ६ अंक छ । कतारको ४ अंक छ भने जापानको २ तथा सामोआ अंकविहीन छ ।

नेपालले छनोटका यसअघिका सबै खेल जितेको छ । समूह चरणमा कुवेत र जापानलाई तथा सुपर सिक्समा यूएई, कतार र ओमानलाई हराएको हो ।