प्रधानमन्त्री सुशील कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएकी छन्।
स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री कार्कीले देशका दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु उचित नभएको भन्दै समस्या समाधान नगरे ठूलो संख्यामा जनशक्ति विदेश पलायन हुने जोखिम रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले बुधबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सिंहदरबारमा बोलाएर नर्सहरूको आन्दोलनको विषयमा विस्तृत जानकारी लिइन्। उनले तत्काल समस्या सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे नियमित जानकारी गराउन निर्देशन दिइन्।
नर्सहरूको मुख्य माग स्वास्थ्य मन्त्रालयको गत मंसिरको निर्णयअनुसार पाँचौँ तह बराबरको पारिश्रमिक अर्थात् मासिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने हो। यो माग राख्दै पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू लामो समयदेखि आन्दोलनमा छन्।





