ओमान र नेपालले दुई खेलअगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
अघिल्ला खेलमा लगातार हार बेहोरेको कतारले बुधबार आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा जापानविरुद्ध तीन विकेटको जित हात पारेको छ। योसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेका ओमान र नेपालले दुई खेलअगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
समूह चरणबाटै समान दुई अंक ल्याएका ओमान र नेपाल हालसम्म अपराजित छन्। दुवै टोलीको समान ६ अंक छ। नेट रनरेटका आधारमा नेपालभन्दा ओमान अगाडि छ। ओमानको १.०२४ र नेपालको नेट रनरेट ०.३५७ छ।
यी दुवै टोलीले बुधबार साँझ सुपर सिक्सको तेस्रो खेल खेल्नेछन्। उत्कृष्ट तीन टोली विश्वकपमा पुग्ने समीकरण छ। तर, संयुक्त अरब इमिरेट्स (यूएई) को दुई, जापान र कतारको पनि समान दुई अंक पुगेको छ।
समोअ अंकविहीन छ। यूएई, जापान र कतारले एक खेल खेल्न बाँकी रहँदा सामोअले दुई खेल खेल्नेछ। तर, यी तीन टोलीले आआफ्ना खेल जिते पनि चार अंकभन्दा बढी पुर्याउन सक्ने अवस्था छैन। त्यसैले ओमान र नेपालको समीकरण बिग्रने छैन। बरु यी चार टोलीले बाँकी एक स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।





