श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज असोज २६ गते, आइतबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्दैछ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। यसको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्डबाट प्राप्त भएको थियो।
पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १ लाख ६३ हजार १२५ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९ हजार ९३८ कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कम्पनीका कर्मचारीहरूका लागि १ लाख २३ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ।





