नेपाली कांग्रेस बैतडीमा भट्ट र चन्दबीच भिडन्त हुने

Congress

बैतडी, ५ असोज – नेपाली कांग्रेस बैतडीको नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न सकेको छैन ।

संस्थापन शेरबहादुर देउवा खेमा र रामचन्द्र पौडेल खेमाले आआफ्ना उम्मेदवार घोषणा गरी प्रचारप्रसारमा समेत जुटिसकेकाले सहमतिमा नेतृत्व चयन हुने संभावना सकिएको नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐरले बताए । दुवै खेमाले आआफ्ना उम्मेदवार घोषणा गरिसकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने उनले दाबी गरे ।

संस्थापन खेमाले पूर्वसभापति शिवराज भट्टको नेतृत्वमा प्यानल घोषणा गरेर प्रचारप्रसार थालेको छ । सो प्यानलमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामी उपसभापतिका उम्मेदवार रहेका छन् ।

यस्तै, युवा नेता रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् भने सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । यता, पौडेल खेमाले भने चतुरबहादुर चन्दलाई सभापतिका रूपमा यसअघि उम्मेदवार घोषणा गरेर प्रचारप्रसार गरिरहेको छ । यस खेमाले अन्य पदाधिकारीमा भने उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको जिल्ला सचिव प्रेमबहादुर चन्दले जानकारी दिए ।

बुधबार अन्य पदाधिकारीको टुंगो लगाएर उम्मेदवारी घोषणा गर्ने तयारी रहेको चन्दले बताए । यस्तै, पालिकाको नेतृत्वका लागि पनि सहमतिको संभावना कम रहेको नेताहरूले बताएका छन् । केही स्थानीय तहमा उम्मेदवार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

समन्धित समाचार