नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक टी–२० श्रृंखला जित्यो

 नेपालले यूएईको शारजहाँ क्रिकेट मैदानमा आयोजित तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा बलियो मानिएको टेष्ट मान्यताप्राप्त राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

नेपालले सोमबार राति भएको दोस्रो खेलमा ९० रनले जित निकाल्दै लगातार दोस्रो जितसँगै एक खेलअघि नै श्रृंखला आफ्नो नाममा लेखाएको हो । यससँगै कुनै पनि टेष्ट राष्ट्रविरुद्ध श्रृंखला जित्ने ऐतिहासिक उपलब्धि नेपाली टिमले हासिल गरेको छ ।

पहिलो खेलमा १९ रनको जितसहित इतिहास रचेको नेपालले दोस्रो खेलमा अझै प्रभावशाली प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७३ रनको बलियो योगफल बनायो ।

यसमा ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन र सन्दीप जोराले ३९ बलमा ६३ रनको योगदान दिए । चौथो विकेटका लागि दुबैबीच सय रनको शानदार साझेदारी रह्यो ।

जवाफमा वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो । जासन होल्डरले २१ रन बनाए पनि अन्य खेलाडी नेपाली बलिङको उत्कृष्ट आक्रमण अघि टिक्न सकेनन् । तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद अदिल आलमले शानदार प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।

कुशल भुर्तेलले ३ विकेट झारे भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र करण केसीले १–१ विकेट हात पारे । नेपाल क्रिकेटका लागि यो जित ऐतिहासिक मात्र नभई आत्मविश्वास बढाउने उपलब्धि बनेको छ ।

अब तेस्रो खेल आज राति नेपाली समयअनुसार ८ः१५ बजे हुँदैछ । यो खेल जिते नेपालले वेस्ट इन्डिजलाई क्लिन स्वीप गर्दै थप ठूलो इतिहास रच्नेछ ।