भारतले टी ट्वान्टी एसिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ ।
सुपर फोर अन्तर्गतको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १६९ रनको लक्ष्य पछ्याउँदै बंगलादेश १९ ओभर ३ बलमा १२७ रनमै अलआउट भयो।
भारतका लागि ओपनर अभिषेक शर्माले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले मात्र ३७ बलमा पाँच छक्का र छ चौकाको मद्दतले ७५ रन जोडे। हार्दिक पाण्डेयले ३८ रन थपे भने शुभमन गिलले २१ रनको योगदान दिए। अन्य ब्याट्सम्यान भने ठुलो योगदान दिन असफल रहे।
जवाफमा बंगलादेश १९.३ ओभरसम्म टिक्न सक्यो र १२७ रनमा सबै विकेट गुमायो। ओपनर सइफ हसनले ६९ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। भारतका कुलदीप यादव सर्वाधिक सफल बलर बने, उनले १८ रन खर्चेर तीन विकेट लिए।
यसअघि सुपर फोरमा भारतले पाकिस्तानलाई र बंगलादेशले श्रीलङ्कालाई पराजित गरेका थिए। प्रतियोगितामा आज पाकिस्तान र बंगलादेश आमनेसामने हुँदैछन्। खेल बेलुकी सवा आठ बजे दुबई रंगशालामा हुनेछ। भारतले अन्तिम खेल भोलि श्रीलङ्कासँग खेल्नेछ भने श्रीलङ्का फाइनलको दौडबाट बाहिरिसकेको छ।