राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालीन राजनीतिक संकट र जेन–जी आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्दै तत्कालिक प्रस्ताव सार्वजनिक गरेको छ ।
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा हस्ताक्षरित उक्त प्रस्तावमा तीन बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक धारणा प्रस्तुत गरिएको छ ।
पहिलो बुँदामा जेन–जी आन्दोलनको सुशासनको मागप्रति समर्थन जनाउँदै, सो आन्दोलनमा निर्णायक हस्तक्षेप गर्न सफल पुस्ताको अनिवार्य सहभागितासहित सर्वपक्षीय सहमतिमा बन्ने प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारप्रति रास्वपाको समर्थन रहने उल्लेख छ । साथै, सो उम्मेदवारले व्यापक राजनीतिक अनुमोदन प्राप्त गरोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ ।
दोस्रो बुँदामा रास्वपाले नेपालको संविधान, संघीय गणतन्त्र, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूतिजस्ता लोकतान्त्रिक मूल्य र मान्यतामा कुनैपनि सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने विषयलाई स्मरण गराउँदै, राष्ट्रिय सभाको स्थायित्व र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको ताजा निर्वाचन गर्नुपर्ने र आन्दोलनको म्यान्डेटसँग सन्तुलन मिलाउनुपर्ने धारणा व्यक्त गरिएको छ ।
तेस्रो बुँदामा संविधानको व्यापक संशोधन, भदौ २३ को आन्दोलनमा भएको दमन, त्यसपछिका मानवीय तथा भौतिक क्षतिहरू र २०४६ पछिका ठूला भ्रष्टाचारका मुद्दामाथि स्वतन्त्र न्यायिक छानबिन हुनुपर्ने माग गरिएको छ । सोका लागि नयाँ सरकार बनेको १५ दिनभित्र उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न राष्ट्रपति तथा सम्वद्ध सरोकारवालाहरुलाई आह्वान गरिएको छ ।
रास्वपाले राष्ट्रपति समक्ष आसन्न संक्रमणकालीन राजनीतिक यात्रा संयोजन गर्न पहल गर्न आग्रह गर्दै समग्र प्रक्रियामा संवैधानिक मर्यादा, लोकतान्त्रिक मूल्य र जनआन्दोलनको म्यान्डेटलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरेको छ ।





