उपप्रमुख डंगोल जेनेभा प्रस्थान

भदौ १७ गते देखि १९ (सेप्टेम्वर २–४) सम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

द फोरम अफ यङ् ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि सम्मेलन आयोजना गरेको हो । फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरु हुनुहुन्छ । यसमा शिक्षा, आर्ट, कल्चर एण्ड स्पोर्टस, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशीललगायत क्षेत्रबाट प्रतिनिधित्व छ ।

सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरुबिच आपसी संवाद र सञ्जाल निर्माण हुनेछ । यस्तै, यङ् ग्लोबल लिडरहरुबिचका आपसी सिकाइ र अनुभव आदान प्रदान हुनेछ । यसले विश्वका फरक क्षेत्र र परिवेशलाई बुझ्न मद्दत गर्नेछ । सम्मेलनमा भाग लिन जानुअघि डंगोलले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो । यसले फरक परिवेशका सम्भावनाहरु जान्ने अवसर प्रदान गर्नेछ । यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरु एकै ठाउँमा हुनु हो । यसले विश्वको परिवेश वुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ ।’

परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताउनुभयो । सम्मेलनमा उहाँका २ वटा प्रस्तुतिकरण हुनेछन् ।

गत वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुभएको हो । युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रुपमा उहाँलाई चयन गरिएको हो ।

यसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिनु भएको छ । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र हुनुहुन्छ । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन हुनुभएको छ । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व हुनुहुन्छ । डंगोल यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य हुनुहुन्थ्यो ।