रुपन्देही-३ उपनिर्वाचन: रास्वपाको उम्मेदवार बने डा लेखजंग थापा

कात्तिक १७ मा हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ। 

पार्टीको आन्तरिक निर्वाचनसहित विभिन्न चरण पूरा गरेर रास्वपाले आज उम्मेदवारको रुपमा डा लेखजंग थापाको  नाम घोषणा गरेको हो।  

यहाँ रास्वपाबाट उम्मेदवार हुन इच्छुक ९ जनाले निवेदन दिएका थिए। रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो। यस अवधिभित्र ९ जनाको आवेदन परेको थियो। 

उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए।

रास्वपाले पार्टी सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति तयार पारेको थियो। 

को हुन उम्मेदवार डा.थापा 
भैरहवाको सिद्धार्थ नगरपालिका ९ अञ्चलपुरमा जन्मिएका डा.लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान् चिकित्सक हुन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस,  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र  कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा.थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् । 

एक विद्वान चिकित्सकको छबि बनाएका डा.थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगतमा उनको बेग्लै पहिचानसमेत बनाएको छ । 
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा.थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ । यो प्रोटोकल नेपालको स्ट्रोक उपचार व्यवस्थापनमा कोशेढुंगा बन्ने निश्चित छ । 
अन्तर्राष्ट्रिय जगत्को समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा.थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतना सम्बन्धी तालिम दिँदै आएका छन् ।