माओवादीसँगको मात्रै एकता हतारिएर गर्न नहुने खनाल–भुसाल समूहको निष्कर्ष

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूको आइतबार बानेश्वरमा भएको भेलाले माओवादीसँग भइरहेको एकता–वार्ताप्रति असन्तोष प्रकट गरेको छ ।

भेलाले ‘माओवादीसँग मात्रै नभई नेतृत्वमा पुस्तान्तरणसहितको बृहत वाम एकताको पहल गर्नुपर्छ’ भन्ने निष्कर्ष निकालेको सहभागीहरूले जानकारी दिए ।

जीवनराम श्रेष्ठको अगुवाइमा रामकुमारी झाँक्री, विजय पौडेल, हरि पराजुलीलगायत सहभागी रहेको भेलामा अध्यक्ष माधवकुमार नेपाल एकल चासोमा अघि बढेको माओवादीसँगको वार्तालाई औचित्यहीन ठहर गरिएको थियो ।

सातै प्रदेशका नेतासहित भएको पछिल्लो छलफलमा कोशीबाहेक अन्य प्रदेशमा समाजवादी–माओवादीबीच गहिरो समस्या रहेको निष्कर्ष समेत प्रस्तुत भयो ।

भेलामा नेताहरूले माओवादीसँग मात्रै हुने एकता अस्वीकार्य रहेको बरु पुस्तान्तरणसहितको बृहत वाम एकताका लागि प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

सो क्रममा अध्यक्ष नेपालले पद त्याग गरेर आफ्नो राजनीतिक कद बढाउनुपर्ने मतसमेत उठेको सहभागीहरूले बताए ।

अध्यक्ष नेपाल अहिले पतञ्जली जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन् र सांसद पद निलम्बनमा छ ।

यसअघि वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टी बैठकमै लिखित रूपमा नेपाललाई अध्यक्ष पद छाड्न माग गरेका थिए ।

त्यस्तै खनालनिकट अधिकांश नेताले माओवादीसँग एकता गर्नुभन्दा मूलघर एमालेमै फर्किनुपर्ने धारणा राखेका छन् ।