सरकारलाई लिङ्देनको चेतावनी- भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलन गर्छाैँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । 

आइतबार झापामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध गर्ने आन्दोलनलाई निरन्तरता दिने बताए । आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर सडकमा उत्रन सक्ने चेतावनी पनि उनले दिए ।

‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भनेका थियौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘तर, उहाँले राजीनामा नदिए पनि छानबिन आयोग त गठन हुनैपर्छ । भोलि दोषी ठहरिएमा कारबाहीमा परिहाल्नुहुन्छ ।’ 

उनका अनुसार संसद् अवरुद्ध भइरहे पनि सभामुख देवराज घिमिरेले त्यसलाई बेवास्ता गरेर सदन सञ्चालन गरेको र सरकार पक्षले पनि उपेक्षा गरेको जनताले नियालिरहेको छ । 

‘हामी कम्तीमा यो सेसनभर विरोधमा रहनेछौँ,’ उनले थपे, ‘आवश्यक परे दुईवटै पार्टी (राप्रपा र रास्वपा) सडकमा आउन सक्छन् ।’ 

फरक प्रसंगमा अध्यक्ष लिङ्देनले पार्टीभित्र नयाँ नेतृत्त्वलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्याएर अघि बढ्न आफू तयार रहेको स्पष्ट पारे ।