रास्वपा नेता अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता, अदालतमा थुनछेक बहस सुरु

काठमाडौँ जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भइसकेको छ। बयानपछि थुनछेक बहस गरी कारागार पठाउने वा साधारण धरौटीमा रिहा गर्ने आदेश आउने भएको छ। सम्भवत आजै बहस टुंगिने अनुमान गरिएको छ। यसअघि अदालतले उनलाई चार दिन हिरासतमा राख्न म्याद दिएको थियो, जसप्रति आलोचना भएको थियो।

एउटै प्रकृतिको मुद्दामा एमाले नेता ऐन महरालाई हाजिरी जमानीमा छाडिएको तर पाँडेलाई हिरासतमा राखिएको विषयमा पनि प्रश्न उठाइएको छ। पाँडेले बेलायतमा बस्ने एक महिलालाई इमेल र ह्वाट्सएपमार्फत अपशब्द प्रयोग गरेको आरोप लागेको छ। नेपाल आएकी ती महिलाले उजुरी दिएपछि पाँडे पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ती महिला पाँडेकी चिनजानकी थिइन् र सम्बन्ध बिग्रिएपछि विवाद बढेको बताइएको छ। ‘वातावरणविद्’ का रूपमा परिचित पाँडे २०७९ भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए। २०८० सालमा रास्वपा सरकारमा रहँदा उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत नियुक्त भएका थिए।