उखु किसानलाई ७५ करोड ४९ लाख अनुदान निकासा

मन्त्रिपरिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउँदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाइ गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

यसअघि उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरूप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई ७० रुपैयाँ नै रकम उपलब्ध गराउन मन्त्री परिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा सरकारले ३५ रुपैयाँ उपलब्ध गराउने  निर्णय गरेको हो । 

यसै बीच काठमाडौंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि बीच सिहंदरबारस्थित मन्त्रालयमा वार्ता भएको छ । वार्तामा मन्त्रालयका तर्फबाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह , मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन् भने उखु किसानका तर्फबाट श्यामबाबु राय लगायत सहभागी छन् । 

यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।