नेकपा ब्युँताउन प्रचण्ड, विप्लव र माधव सहमत, छलफलमा माओवादी–एसका नेताहरू सक्रिय

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (विप्लव) सँग पार्टी एकता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार बिहान प्रचण्ड विप्लवको हरिसिद्धि निवास पुगेका थिए ।

करिब ४५ मिनेट लामो भेटमा समाजवादी मोर्चालाई बलियो बनाउने र पार्टी एकताबारे छलफल भएको दुवै पक्षले बताएका छन् ।

प्रचण्डले स्थायी समितिले एकताको निर्णय गरिसकेको भन्दै विप्लवको पार्टीले पनि सकारात्मक निर्णय लिने विश्वास व्यक्त गरेका हुन् ।

जवाफमा विप्लवले भदौ २२ मा बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्ने बताए ।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार भेट राजनीतिक भन्दा बढी पारिवारिक र विप्लवको कृषि फार्म अवलोकनमुखी भएको थियो ।

भेटवार्तामा स्रोतका अनुसार तत्कालिन नेकपा ब्युँताउन प्रचण्ड–विप्लव सहमत भएका छन् ।

यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरूसँग वार्ता गर्ने सहमति भएको छ ।

पदीय जिम्मेवारीका लागि अध्यक्षमा प्रचण्ड–नेपाल र महासचिवमा विप्लवलाई अगाडि सार्नका लाटि छलफल जारी रहेको स्रोत बताउँछ ।