नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच सहकार्य र ट्युनिङ बलियो बन्दै गएको देखिन्छ ।
१४औं महाधिवेशनमा फरक समूहबाट विजयी दुवै नेता पछिल्लो समय संसद्, सरकारको खबरदारी, सहकारी ठगी, भूमि विधेयकदेखि सीमा विवादसम्ममा साझा धारणा बनाउँदै आएका छन् ।
हालै भूमि विधेयकमा दुवैले संयुक्त संशोधन हालेका थिए, जसले सरकार र शीर्ष नेताहरूसम्म दबाब सिर्जना ग¥यो ।
सदनमा निरन्तर सक्रियता देखाएका दुवै नेताले सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि भूमिका खेलेका थिए ।
उपसभामुख प्रकरणदेखि भारत–चीनले लिपुलेकमा व्यापार खोल्ने सहमति विरुद्ध समेत उनीहरू एकै धारमा उभिए ।
तर, केही विषयमा मतभिन्नता पनि छ। विशेषगरी सभापति शेरबहादुर देउवाले छैटौं पटक प्रधानमन्त्री बन्नु नहुने भन्ने विश्वप्रकाशको अडानमा गगनले खुलेर समर्थन नगरेपछि असन्तुष्टि देखिएको हो ।
१५औं महाधिवेशनतर्फ दुवैको दृष्टिकोण केही फरक छ ।
गगनले सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् भने शर्माले भने तत्काल हतारो नगरी पछि रणनीति स्पष्ट गर्ने बताएका छन् ।





