नेकपा (एमाले) का पूर्व नेता डा. भीम रावलले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सत्ता स्वार्थका लागि जे पनि गर्न तयार रहेको भन्दै उनीहरुको कार्यशैलीप्रति आलोचना गरेका छन्।
उनले सत्ता र पदका लागि जस्तोसुकै कदम चाल्ने तर राष्ट्रियताका सवालमा मौन बस्ने प्रवृत्तिले देशलाई कमजोर बनाएको सुनाए।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रावलले हालै देखिएका राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै अछामी उखान ‘पोहोर मरी सासु, अहिले आए आँसु’ को संज्ञा दिए।
उनले भने, “उपसभामुखले त्यसरी पत्र पठाएको हो भने तत्काल छानबिन हुनुपर्छ भनेर मैले त्यतिबेलै आवाज उठाएको हुँ। त्यतिबेला सत्तामा यिनै व्यक्तिहरू थिए, किन छानबिन गरेनन् ? अहिले आएर संवैधानिक परिषद्मा आफ्नो बहुमत नहुने र भागबण्डा गर्न नपाइने भएपछि मात्रै विरोध गर्नुको के अर्थ ?”
डा. रावलले यस्ता गतिविधिहरू केवल सत्तामा रहिरहने पदलोलुप, सत्तामुखी र स्वार्थी चिन्तनको उपज भएको टिप्पणी गरे।
उनले केपी शर्मा ओली र शेरबहादुर देउवा लगायतका नेताहरूको गठबन्धनले आफ्नो सत्ता टिकाउनका लागि जे पनि गर्ने तर राष्ट्रिय हितका विषयमा मौन बस्ने गरेको आरोप लगाए।
विपक्षी दलहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले भने, “सरकारले बहुमतको दम्भ देखायो भनेर गीत गाएर मात्र केही हुँदैन। नागरिकता विधेयक पारित हुँदा, जलविद्युतमा विदेशी सुरक्षाकर्मीलाई ढोका खोल्दा र भूमिसुधारलाई कुल्चिने ऐन आउँदा खै बोलेको ? खै संसदमा सशक्त उपस्थिति भएको ?”
उनले सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएर उनीहरूको सार्वभौम अधिकारलाई पंगु बनाउने काम भइसकेको बताउँदै विपक्षी दलहरूले यी गम्भीर विषयमा सशक्त रूपमा आवाज उठाउन नसकेको आरोप लगाए।





