उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय

 प्रतिपक्षी दलहरूको बैठकले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले गरेको तयारीलाई असफल बनाउने निर्णय गरेको छ ।

प्रतिपक्षी दलहरूको बैठकपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको घटनाले उनीहरूको निरंकुशतालाई नाङ्गो बनाएको बताए। ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयोजनका लागि सतारूढ पार्टीहरु एमाले र नेपाली कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको भन्ने घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ। यसले लोकतन्त्रको धज्जी उडाएको छ,’ श्रेष्ठले भने ।

यो र यस्ता कदमले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदै लगेको दाबी उनको छ। प्रतिपक्षी दलहरूको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी सहभागी थिए ।  

आचरणमाथि प्रश्न उठाउँदै कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेका छन्। त्यसका लागि मंगलबार कांग्रेस र एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर गराएका छन् भने सरकारमा रहेका र सरकारबाहिर रहेका साना दलहरूसँग छलफलसमेत गरेका छन्।