पशुपति आर्यघाटबाट जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भएर कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भएर गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव छन् । उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि साउन २३ मा चितामा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढलका र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको खुलेको छ । प्रहरीले ठाकुरलेप्लास्टिकमा पोको बनाएर राखेको अवस्थामा हड्डीको धुलो र खरानी बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।