सुडानमा भोकमरीग्रस्त विस्थापित शिविरमा आक्रमण, ४० जनाको मृ*त्यु

 सुडानको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले उत्तर डार्फुर प्रान्तको राजधानी एल–फासेरबाहिर रहेको भोकमरीग्रस्त विस्थापित शिविरमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ ।

अबु शौक विस्थापित शिविरमा कार्यरत इमर्जेन्सी रेस्पोन्स रुम्स समूहले सुडानी सेनासँग युद्धरत आरएसएफले शिविरका केही भागमा आक्रमण गरेको जनाएको छ । सुडानभर सहायता प्रदान गर्ने यस समूहले आक्रमणमा कम्तीमा १९ जना घाइते भएको पनि जनाएको छ ।

एल–फासेरबाहिरको अबु शौक विस्थापित शिविरमा करिब चार लाख ५० हजार विस्थापित बस्ने गरेको बताइएको छ । आरएसएफको बारम्बारको आक्रमणका बाबजुद एल–फासेरमा सुडानी सेनाको नियन्त्रण छ ।सुडानमा सन् २०२३ को अप्रिलमा राजधानी खार्तुममा गृहयुद्ध सुरु भएको थियो ।

आरएसएफ र सेनाबीचको तनावपछि देशभर फैलिएको छ ।यस युद्धमा ४० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । एक करोड २० लाख विस्थापित भएका र धेरैलाई भोकमरीको संघारमा पुर्‍याएको बताइएको छ ।