आजपनि पनि घट्यो नेप्से : २ हजार ७९६ दशमलव २४ विन्दुमा बन्द

 नेप्से परिसूचक मंगलवार २६ दशमलव २२ अंक घटेर २ हजार ७९६ दशमलव २४ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक २ हजार ८०० विन्दुको टेवालाई समेत तोडेर तल झरेको हो । अबको बलियो टेवा विन्दु २ हजार ७७० देखिएको छ । मंगलवार २ हजार ८२८ दशमलव ५७ विन्दुसम्म पुगेको नेप्से २ हजार ७९६ दशमलव २४ विन्दुसम्म नै झरेको थियो । मंगलवारको न्यून विन्दु नै अन्तिम विन्दु कायम भएको हो ।

मंगलवारको कारोबारलाई लिएर बनेको मैनबत्ती विश्लेषणमा सानो टुप्पी भएको रातो मैनबत्ती आकृति बनेको छ । यस आकृतिले बजारमा विक्री चाप घट्ने क्रममा रहेको संकेत गर्छ । खरीद माग नबढे पनि विक्री चाप कम हुँदा बजार खासै तल नजाने संकेत मंगलवारको मैनबत्ती विश्लेषणले गरेको छ । 

मंगलवार २४ कम्पनीको मात्र धितोपत्र मूल्य बढेको छ भने २२५ कम्पनीको धितोपत्र मूल्य घटेको छ । यो दिन गरिमा विकास बैंकको शेयर मूल्य भने स्थिर बनेको छ । सिटि होटलको शेयर मूल्य बुक क्लोजपछि पनि ९ दशमलव ९९ प्रतिशत बढेको छ । ८० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि साउन २७ गते बुक क्लोज गरेको कम्पनीको शेयर मूल्य मंगलवार समायोजनपछिको मूल्यमा प्रतिकित्ता ५७ रुपैयाँ ७८ पैसा बढेर अन्तिम मूल्य ६३६ रुपैयाँ २० पैसा कायम भएको हो । 

सिक्लेस हाइड्रोपावरको शेयर मूल्य भने यस दिन ९ दशमलव ९९ प्रतिशत घटेको छ । प्रतिकित्ता ११४ रुपैयाँ ५५ पैसाले घटेर कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता १ हजार ३२ रुपैयाँ ५१ पैसा कायम भएको हो ।

बजारसँगै कारोबार रकम घटेको छ । अघिल्लो कारोबार दिन १० अर्ब २१ करोड रुपैयाँभन्दा बढीको २ करोड ५० लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा मंगलवार ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको १ करोड ७६ लाखभन्दा बढी कित्ता मात्र धितोपत्र कारोबार भएको हो ।

कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको १ लाख ७२ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको शेयर कारोबार भएको कम्पनीको यो दिन प्रतिकित्ता १४ रुपैयाँ ५३ पैसाले मूल्य घटेर अन्तिम शेयर मूल्य प्रतिकित्ता १ हजार ५३८ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

यस दिन होटल तथा पर्यटन समूह बाहेकका सबै सूचकहरू घटेका छन् । होटल तथा पर्यटन समूहको परिसूचक भने १ दशमलव ३२ प्रतिशत बढेको हो । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ५३ प्रतिशत घटेको छ ।

कुल बजार पूँजीकरण एकै दिन ४२ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीले घटेर ४६ खर्ब ६९ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँँभन्दा बढी थियो ।