तीन वर्ष बित्दासमेत खत्याडमा बलेन बिजुली, झवरो र टुकीको भरमै बिते रात

j 2

मुगु, ३० भदौ- जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका- ११ मा निर्माणाधीन विराबगर जलविद्युत् आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि हालसम्म खत्याडमा बिजुली बलेको छैन । २०७५ सालमा निर्माण कार्य सुरु भएको आयोजना सम्झौताअनुसार १८ महिनामा सम्पन्न हुनुपर्ने थियो ।

खत्याडका ११ वटै वडाका करिब २२ हजार जनसंख्यालाई लक्षित गरेर सो आयोजना निर्माण कार्यको थालनी गरिएको थियो । हालसम्म आयोजनाको निर्माण कार्यले गति लिन नसक्दा तीन वर्षदेखि खत्याडबासी अन्धकारमै बस्न बाध्य छन् । खत्याड गाँउपालिकाका बस्ती र छिमेकी जिल्ला बाजुराका केही बस्तीलाई लक्षित गरी २०७७ असोजदेखि निर्माण कार्य सुरु गरिएको थियो ।

आयोजना निर्माणका जिम्मा मेगा फेवा जेभी कम्पनीले पाएको थियो भने विद्युत्‌को पोल हाल्ने र लाइन तान्ने जिम्मा कश्मिर कम्पनी लिमिटेडले लिएको छ । तर, कोरोना महामारीको बहाना गर्दै आयोजनाको निर्माण कार्य नै ठप्प पारिएको छ ।

आयोजनाका सहजकर्ता अजबहादुर शाहीले धेरै काम भइसकेको र केही काम हुन बाँकी रहेको बताए । आयोजना निर्माणको जिम्मा लिएका कम्पनीहरूलाई ताकेता गरिरहेको पनि उनले बताए । त्यस्तै, उनले कोरोना महामारीका कारण लकडाउन हुँदा केही समस्या आएको तर गएको दशैँसम्म विद्युत् निर्माण कार्य सम्पन्न हुने बताए पनि हालसम्म विराबगर जलविद्युत् आयोजनाले गति लिन नसक्दा निर्माण कार्य गञ्जागोल अवस्थामा रहेको शाहीले बताए ।

आयोजनाका लागि ल्याइएका पाइपहरू खिया लागेर ठाउँठाउँमा लथालिंग अवस्थामा फालिएका छन् । गाउँ बस्तीमा पोल मात्र गाडेको देखिन्छ । भवन निर्माण कार्यले पनि कछुवा गतिमा रहेको छ ।

एसियाली बिकास बैंक, नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, माछापुच्छ्रे बैंक र शेयर सदस्यहरूबाट संकलित २७ करोड रुपैयाँको लगानीमा ५०० किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने उद्देश्य रहेको थियो तर हालसम्म सम्पन्न हुन सकेको छैन ।

खत्याड गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीले दशैँमा बत्ती बालिसक्ने दाबी गरेका थिए तर त्यो स‌भव भएन । स्थानीय तहबाट यस आयोजनालाई गम्भीर रूपमा हेरिएको उनको भनाइ थियो । पछिल्लो समय जग्गा विवादका कारण क्यानल निर्माणको काम रोकिएपछि स्थानीयको बिजुली बाल्ने सपना सपनामै सीमित भएको छ भने बिजुली कहिलेसम्म बल्ने हो, त्यसको कुनै निश्चितता नभएको स्थानीय कमल कार्कीले बताए ।

सुरुका दिनमा कोभिड- १९ का कारण र छ महिनायता जग्गा विवादका कारण आयोजना निर्माण कार्यमा ढिलाइ भएको आयोजनाका साइट इन्जिनियर अबुसइद खानले जानकारी दिए । आगामी दिनहरूमा आयोजनाले गति लिने, नलिनेबारे केही टुंगो नलागेको बताइएको छ । खत्याडबासीले हालसम्म झवरो र टुकीको भरमा रात कटाइरहेका छन् ।

समन्धित समाचार