नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन ।
नेपाली कांग्रेस विराटनगर-४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो सुझाव दिएका हुन् । अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न उनले देउवालाई भनेका छन् । उनले भने, ‘शेरबहादुर देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो । तर उहाँ सत्ता गठबन्धनबाहेकका दल नेतासित भेट्नै हुँदैन भन्ने जस्तो गर्नुहुन्छ । नेता भएपछि सबैसित भेट्नुपर्छ । सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसित भेट गरेको हुँ । विगतमा ओलीजी सत्ताबाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’
युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने बताउँदै उनले कांग्रेस कमजोर भए लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।





