सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको खोजी जारी रहेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट उनीहरु चार दिनदेखि बेपत्ता रहेको खुलेको छ ।
स्थानीयले ढिलो गरि खबर गरेपछि प्रहरी उनीहरुको खोजीमा लागेपनि अहिलेसम्म उनीहरुको पत्ता लागेको छैन । प्रहरीले परिवारका १६ सदस्यमध्ये एकको अन्तिम लोकेसन रामेछापमा भेटिएको जनाएको छ ।
एकान्त ठाउमा घर रहेकाले स्थानीयसँग नियमित सम्पर्क नहुँदा घटना बारे ढिलो थाहा भएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । बेपत्ता हुनेमा उर्मिला हायु, हायुका ६ छोरा र ६ छोरी, एक बुहारी, एक नाती र एक नातिनी रहेका छन् । साथै स्थानीयले गत विहीबार उनीहरुले घरमै सुँगुर काटेर खाएको स्थानीयले बताएका छन् । साथै उनीहरुले केहि दिन अघि मात्र उनीहरुले स्थानीय तहबाट पाउने भत्ता समेत पाएको बताइएको छ ।
हायुको घरमा हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । घरको अवस्था हेर्दा उनीहरुले अचानक घर छोडेको जस्तो देखिएको स्थानीयले बताएका छन् ।
हराएको हायु परिवारका सदस्यहरू :
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजात हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की शान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेगबहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी )





