सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता, खोजी कार्य जारी

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। उर्मिला हायुको परिवारका सबै सदस्य केही दिनदेखि सम्पर्कविहीन रहेका छन्।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार बेपत्ता भएका व्यक्तिहरू हालै मात्रै सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किएका थिए। उनीहरू सीमान्तकृत समुदायअन्तर्गत लाभान्वित भई भत्ता लिएका थिए। घर फर्किएलगत्तै उनीहरू घरमै नभएको र सम्पर्कविहीन भएको पाइएको हो।

श्रेष्ठले जानकारी दिएअनुसार उनीहरूको घरमा सामान्य रूपमा आगो लागेर क्षति पुगेको देखिएको छ। घर वरपर बाख्रा, कुखुरा, भैसी लगायतका पशुपन्छीहरू अलपत्र अवस्थामा फेला परेका छन्। वरपरका स्थानीयले पनि घरमा तीन दिनदेखि कोही नदेखिएको जनाएका छन्।

घरबाट नजिकै रहेको गोठमा बाँधिएको भैसीलाई घाँससमेत हालिएको छैन। वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त घर एकान्तमा रहेको हुँदा अरू घर पुग्न १५ मिनेटभन्दा बढी लाग्ने दूरीमा छ।

बेपत्ता परिवारको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुबेदीका अनुसार उक्त परिवारले केही दिनअघि मात्र सामाजिक सुरक्षा भत्ता लिएको पुष्टि भएको छ। “हामी उनीहरू घुम्न गएको पनि हुनसक्छन् भनेर मोबाइलको लोकेसन ट्र्याक गर्दैछौं,” उनले भने।

हाल घटनाबारे गहिरो अनुसन्धान भइरहेको छ र परिवारको खोजीका लागि व्यापक अभियान सञ्चालन गरिएको प्रहरीको भनाइ छ।