हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले देशभरको मौसममा सामान्य बदली देखिएको छ ।
यसको प्रभावस्वरूप कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ ।
आज राति कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




