घुससहित रंगेहात पक्राउ परे वरिष्ठ वन अधिकृत

डिभिजन वन कार्यालय कैलाली, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव सात लाख रुपैयाँभन्दा बढी घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई सात लाख रुपैयाँभन्दा बढी घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी बिमर्का (बिवरणपत्र) र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेका थिए । 

त्यसैको उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।