दुबईको अल नासर क्लबमा जुलाई २० आइतबार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म भव्य सांगीतिक कार्यक्रम ‘गोर्खा साँझ’ आयोजना हुने भएको छ।
कार्यक्रमको नेतृत्व चर्चित गायक कुमा सागरले गर्दै छन्। उनीसँगै ख्वप ब्यान्डका सदस्यहरू शरद देउला, सिद्धि सागर प्रजापति, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसु एउटै मञ्चमा प्रस्तुत हुँदै छन्।
नेपालबाट आएका कलाकार ममता राणा र मोहन खड्काको विशेष प्रस्तुति रहनेछ भने दुबईमै सक्रिय नेपाली कलाकारहरू सुमन गैडा, प्रदीप गुरुङ, समीर स्याङ्बो, युवराज थापा, सागर तामाङ, आशीष अवाले लगायतले पनि आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रमको संयोजन गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले गरेका हुन्। उनका अनुसार यो कार्यक्रम नेपाली प्रवासी समुदायको भावना, पहिचान र एकताको उत्सवको रूपमा आयोजना गरिएको हो। यस कार्यक्रमले नेपाली संगीत र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
करिब ४ हजार दर्शकलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा माउन्ट एभरेस्ट सुपरमार्केट मुख्य प्रायोजक रहेको छ। साथै विभिन्न संघ–संस्थाहरूको उल्लेखनीय सहयोग रहेको संयोजक ठकुरीले जानकारी दिएका छन्।





