बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

योग्यता विवादमा पर्दै आएका बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनेसँगै उनी निलम्बनमा परेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न समिति बनाएको हो । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ । छानबिन समिति गठन भएसँगै छानबिन अविधभर अध्यक्षको पद निलम्बन हुन्छ ।

छानबिनबाट उनी दोषी ठहरिएमा उनी बर्खास्त समेत हुनेछन् । ओझासँग प्राधिकरणका लागि आवश्यक पर्नेभन्दा फरक योग्यता रहेको, बीमा ऐनले तोकेको विज्ञता नभएको र उनले पेस गरेको अनुभव सम्बन्धी कागजात सही नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।