अब क्यान्सरका बिरामीलाई दुर्लभ महँगो औषधि निःशुल्क  

अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने भएको छ ।

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो । त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुनेछ ।

डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थमन्त्री प्रदिप पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त गरेको बताए ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधि नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरूप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए । हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अरू आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।