प्रधानमन्त्री ओली झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार झापा जाने भएका छन् ।

प्रधानमन्त्री ओली आगामी आइतबार र सोमबार इलाम र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने एमाले झापाले जनाएको छ । ओलीले इलामको माई नगरपालिकामा जग्गा धनीपुर्जा वितरणसँगै झापाको बिर्तामोडमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आइतबार बुद्धशान्ति गाउँपालिका– ३ मा रहेको भागीरथा न्यौपाने अस्पताल उद्‌घाटन गरेपछि इलामको माई नगरपालिकामा आयोजित नगर अस्पतालको उद्घाटनसँगै जग्गा धनीपूर्जा वितरण गर्ने तयारी छ ।ओलीले सोही ठाउँमा खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

माई नगरपालिकाबाट फर्किएर त्यसैदिन कन्काई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ ।यसैगरी सोमबार दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वी तर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन, बिर्तामोडको सिटी सेन्टर आयोजित कार्यकर्ता भेलालाई सम्बोधनपछि काठमाडौं फर्किने कार्यक्रम छ ।