आलमलाई सफाइ दिने न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने एमाले सांसद साहको माग

uml news

काठमाडौं, २३ असार
नेकपा एमालेका सांसद किरणकुमार साहले नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग लगाउनुपर्ने बताएका हुन्।

सांसद साहले जिउँदै इँट्टाभट्टामा जलाएर हत्या गरिएको जघन्य घटनामा दोषी ठहर भइसकेका आलमलाई सफाइ दिने फैसला आएपछि त्यसलाई आममिडिया र जनमानसले राजनीतिक संरक्षणको परिणामको रुपमा व्याख्या गरिरहेको बताए। उनले भने, “अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रुपमा हेरिएको छ। यदि सरकार साँच्चिकै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने उच्च अदालतका न्यायाधीश थारु र महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ।”

सांसद साहले यदि यस्तो कदम चालिएन भने गठबन्धन सरकारले नै अफताब आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जाने चेतावनीसमेत दिए। उनले भने, “यदि यस्तो कदम चालिँदैन भने गठबन्धन सरकारले नै आलमलाई उपहारस्वरुप सफाइ दिएको भन्ने सन्देश जान्छ। यस्तो अवस्था लोकतन्त्र र न्याय प्रणालीमाथिको गम्भीर अपमान हो।”

उनले राजनीतिक भागबण्डामा न्यायाधीशको नियुक्ति तुरुन्त रोक्न पनि सरकारलाई आग्रह गरे। सांसद साहका अनुसार यदि न्यायपालिकामाथि राजनीतिक प्रभाव कायमै रह्यो भने देशमा कानुनी राज्यको सिद्धान्त नै समाप्त हुनेछ।

यसअघि उच्च अदालत जनकपुरले पूर्वमन्त्री समेत रहेका अफताब आलमलाई बम विस्फोटपछि घाइतेहरुलाई जिउँदै इँट्टाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत राउटहाटबाट दोषी ठहर गरी जन्मकैदको सजाय सुनाइएको फैसला उल्टाउँदै सफाइ दिएको थियो। अदालतको उक्त फैसला आएपछि व्यापक आलोचना भएको छ।

समन्धित समाचार