स्पेन भ्रमणबारे प्रधानमन्त्री ओलीको जानकारी : नेपाल सक्षम र जिम्मेवार मुलुक सावित

8 1

काठमाडौं, २३ असार
प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले नेपालको आर्थिक कूटनीतिलाई विश्वस्तरमा नयाँ साझेदारीसँग जोड्दै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न थप गति दिएको उल्लेख गरे। उनले नेपालको नेतृत्व र वकालतले अति कम विकसित मुलुकहरूको पक्षमा न्यायपूर्ण आर्थिक र सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओली यही असार १४ गते सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका थिए। यसअघि, असार १४ गतेकै प्रतिनिधिसभा बैठकमा उनले आफ्नो भ्रमण र सम्मेलनको कार्यसूचीबारे जानकारी गराएका थिए।

सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकहरूको तर्फबाट अगुवाइ गर्दै सम्बोधन गरे। उनले ती मुलुकहरूको न्यायपूर्ण आर्थिक र सामाजिक विकासका लागि बलियो आवाज उठाउँदै अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा व्यक्त गरे। सेभियामा भएको प्रतिबद्धताको कार्यान्वयनबाट अति कम विकसित मुलुकहरूले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त गर्ने अपेक्षा रहेको पनि उनले बताए।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नत हुने योजना रहेको र यसतर्फ अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक संकेत देखिएको जानकारी दिए। उनले भने, “विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक तथा अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा समेत सहयोगका लागि आह्वान गरिएको छ। नेपालले विकास साझेदारीका प्राथमिकताहरूलाई समेत मुखर बनाएको छ।”

प्रधानमन्त्री ओलीले भ्रमणबाट राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै अति कम विकसित मुलुकहरूको विकासको पक्षमा पैरवी गर्न नेपाल सफल भएको बताए। उनले नेपाल एक जिम्मेवार र सक्षम मुलुकको रूपमा स्थापित भएको दाबी गर्दै आर्थिक कूटनीति र वैदेशिक लगानी वृद्धि हुने अपेक्षा व्यक्त गरे।

सम्मेलनकै अवसरमा प्रधानमन्त्री ओलीले अति कम विकसित मुलुकहरूको समूहको बैठकको अध्यक्षता गर्दै विभिन्न साइडलाइन वार्ता र गोलमेच सम्मेलनहरूमा नेपालको नेतृत्व, वकालत र प्रतिबद्धता प्रस्ट पारे।

प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गर्दै सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको आवश्यकता औंल्याए। उनले नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था अंगीकार गरेको कुरा पनि राखे।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो। सो अवसरमा दुई मुलुकबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी गराए।

प्रधानमन्त्रीले संसदमा भने, “नेपालले ४४ वटा अति कम विकसित मुलुकहरू माझ उक्त सम्मेलनका अवसरमा प्रभावकारी नेतृत्व प्रस्तुत गरेको छ। यसले नेपालको अन्तर्राष्ट्रिय भूमिकामा थप दृढता र विश्वास जगाएको छ।”

समन्धित समाचार