झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । अहिले जिल्लाभरि डेंगुका ५५ जना संक्रमित उपचाररत छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ ।
मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको छ । डेंगु संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । यसवर्ष देशभरि डेंगु संक्रमित ६० हजार नाघ्न सक्ने सरकारको अनुमान छ ।