रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ ।
शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता निष्कर्षविहीन भएको केही घण्टापछि रूसले उक्त आक्रमण गरेको हो ।
किभसहित युक्रेनका अन्य सहरहरूमा रातभर ड्रोन र विस्फोटहरूको आवाज गुञ्जिएको थियो। त्यससँगै युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको थियो । रूसी सेनाले डोनेत्स्क क्षेत्रमा एक गाउँ नियन्त्रणमा लिएको दाबी गर्दै युक्रेनी भूभागमा थप दबाब सिर्जना गरेको छ।
आक्रमणका क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ। युक्रेनी वायु सेनाका अनुसार यो आक्रमण युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हो । यसमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएका थिए, जसबाट कम्तीमा २३ जना घाइते भएका छन्।